विश्वकर्मा, आर्किटेक्चर र विज्ञान
आर्किटेक्चर निर्माण विज्ञान हो । विश्वकर्मा वैज्ञानिक हुन््, आर्किटेक्ट हुन् । सन्दर्भ हो, असोज १ गते एकै दिन परेको विश्वकर्मा पूजा र विज्ञान तथा प्रविधी दिवसको । वर्तमान समयको उच्च प्रविधियुक्त समाज र सदियौँ पुरानो विज्ञान तथा प्रविधि अतुलनीय रुपमा भिन्न छन् । यद्यपि समाज विकासको अभिन्न र अविछिन्न कालखण्डहरुमा समयअनुकुल ऐतिहासिक विकासक्रम आवश्यकताअनुसार विकसित भइरहेको इतिहास पाइन्छ । परापूर्वकालीन वास्तुकलाविद (आर्किटेक्ट) विश्वकर्माले सत्ययुगमा स्वर्ग र त्रेतायुगमा रावणको प्रख्यात पौराणिक नगरी लंकाको डिजाइनमा प्रमुख आर्किटेक्ट रहेको मिथक छ । साथै, द्वापरयुगमा कृष्णनगरी द्वारिका, पाण्डवहरुको मायासभा पनि विश्वकर्माले नै निर्माण गरेको थिए भनिन्छ । तसर्थ विश्वकर्मालाई देव वास्तुकलाविदका नामले ससम्मान अग्रणी इन्जिनियरका रुपमा पनि लिइन्छ ।
विश्वकर्मा केवल इन्जिनियर र आर्किटेक्टहरुका मात्र होइनन्, समग्र कलापारखी देखी मजदूर सम्म सबैका आदर्श हुन् । विश्वकर्मा पूजा ती सम्पूर्ण औद्योगिक मजदूर, चित्रकार, शील्पकार इत्यादीको क्षमता अभिबृद्धिको आह्वान हो । नवनिर्माणवादको शंखघोष हो, विनिर्माणवादीको मुखमा झापड हो । यो कसैको व्यक्तिबर्णन वा चरित्रचित्रण नभई क्षमता र सीपको कदर र सुन्दरताको बयान गर्नै शुभ अवसर हो । विकासवादीहरुका निम्ति अवसर हो । निराशावादीहरुका निम्ति आशाको सुनौलो किरणपुञ्ज हो । विश्वकर्मालाई केवल हिन्दु धर्मका भगवान भनेर चिन्ने ती तमाम मानिसका निम्ति धर्मनिरपेक्ष वास्तुशिल्पीको सकारात्मक सन्देशको पैगाम हो, विश्वकर्माको सीप ।
आर्किटेक्चर आफैमा विज्ञान हो । आर्किटेक्चर कला हो । तसर्थ, यो समाज संयोजन र व्यवस्थापनको कला विज्ञान हो । हरेक भौतिक र अभौतिक संरचना निर्माण विकासको परिचायक हो । हरेक निर्माण वैज्ञानिक सिद्धान्तहरुबाट निर्देशित रहन्छ र तिनै सिद्धान्तहरुको सुन्दरतम व्यावहारिकता आर्किटेक्चरले संगालेको हुन्छ । तसर्थ, विज्ञान र आर्किटेक्चरको अन्योन्यास्रित सम्बन्ध पुष्टि गर्न सहयोग मिल्दछ । किनभने आर्किटेक्चर कलासाहित्य, विज्ञान र ज्ञानको सम्मीश्रण हो ।
डरपोक मानवका निम्ति जंगली युगमा वासस्थानको परिकल्पना गर्ने, ढुंगेयुगलाई आलेसान महलहरुसम्म डो¥याउने डोरो हो आर्किटेक्चर । यो सभ्यताको इतिहास हो । राजनीति गर्नेहरुका निम्ति समयको परिभाषा हो । ऐतिहासिक बिकासक्रमको मोटो किताब हो । प्रत्येक झुपडी देखी साततारे होटलसम्म सबैको गर्भमा समाहित रहस्य हो आर्किटेक्चर । इजिप्टका विशालकाय पिरामिड पछाडीको रहस्य हो आर्किटेक्चर । प्रेमीहरुका निम्ति ताजमहल, शत्रुहरुका निम्ति द ग्रेट वाल अफ चाइना, भक्तहरुका निम्ति पशुपति, विद्यार्थीका नजरमा स्कूल कलेजप्रतिको आकर्षण, ठेकेदारहरुका निम्ति आर्जनको भाँडो, ग्राहकका लागी सपिङ मल र सेन्टरहरु, कलाकारका निम्ति थ्रिएटर, उद्योगहरुका लागी नयाँ मोडल र डिजाइनका सामग्रीहरु, वैज्ञानिकहरुका निम्ति प्रयोगशाला सबै हो आर्किटेक्चर ।
आर्किटेक्चर र विज्ञान एक आपसमा स्वजडित विधा हुन् । विश्वका हरेक बुझ्झकीले विज्ञानविनाको ब्रह्माण्ड र प्रविधि बिनाको जीवन परिकल्पना सम्म हुन सक्दैनन् भनेर बुझेकै हुनुपर्दछ । नेपालमा प्रथम पटक यो वर्ष देखि विज्ञान दिवस मनाइरहँदा कतिपयले अर्कोपट्टी विश्वकर्मा पूजा धुमधामसँग गर्दैछन् । नेपाल सरकारले नेपाली वैज्ञानिकहरुको विशेष आग्रहमा यसै बर्षदेखी असोज महिनाको पहिलो दिनलाई विज्ञान दिवसका रुपमा मनाउने निर्णय गर्नु सम्मानयोग्य कदम हो । देश दोस्रो संविधानसभाको निवोचनतर्पm उन्मुख भइरहेको वर्तमान समयको कालखण्डमा संविधानमा नै विज्ञानको महत्वलाई विकास निर्माणको कडीका रुपमा सम्बोधन गरिनु आवश्यक छ । जुन किसिमले विकसित राष्ट्रहरुले विज्ञान तथा प्रविधिको आवश्यकतालाई केन्द्रमा राखेको पाइन्छ, त्यसैगरी नेपालमा पनि विज्ञान र वैज्ञानिक दिमागहरुको कदर गरिनु आवश्यक छ । विज्ञानलाई विकासनिर्माणको इन्जिनको रुपमा ग्रहण गर्नु आवश्यक छ । तबमात्र राष्ट्र विकासको दिशामा तीब्र गतिमा अगाडी बढ्न सक्तछ ।
प्रत्येक अणुदेखी ब्रह्माण्डको छेउसम्मकै आँट्ने विधा हो विज्ञान । जीवनको आधार कोष देखी डाइनोसरको विलय सम्मको, जहर देखी अमृत सम्मको, पानी देखी आगो, प्रकाश देखी ब्ल्याकहोलसम्मको एक एक हिसाब किताब नै त हो विज्ञान । विज्ञान सिद्धान्तवाद देखी प्रयोगवाद सम्मको संगालो हो । त्यसैले, ब्रह्माण्डकै आधारस्तम्भ विज्ञान भएको पुष्टि भइसक्दा राष्ट्रनिर्माणको ईँटाका रुपमा यसलाई चित्रित गर्न कुनै आइतबार कुर्नै पर्दैन । नासाले चन्द्रलोक खोतल्दासम्म पेटमा दुई गास छिर्न धौधौ पर्नेहरुका लागी उत्पादनको सीप र हलोका ठाँउमा अत्याधुनिक ट्य«ाक्टरको चमत्कार हो विज्ञान । अन्धकारमा रोशनी, गर्मीमा चिसोपनाको आभाष र कठ्याङ्ग्रिदो जाडोका हिटर हो विज्ञान ।
स्पस्ट हुनु जरुरी छ, एउटा भवन आर्किटेक्चर हो, त्यो बनाउने सीपको प्रतिमूर्ति विश्वकर्मा हो र यसमा प्रयुक्त सबै सिद्धान्तहरु, गणित, नापतौल सबै विज्ञान हो । राष्ट्र, समाज, सभ्यता र संस्कार सबै आर्किटेक्चर हो, देश चलाउने नेता, जनता, साशक, प्रसाशक, नियम, कानुन लगायत विश्वकर्मा हुन्, विरामीको उपचार देखी अन्न फलाउने तरकीब, भौतिक चीजबीज देखी मस्तिस्कको कार्यप्रणालीको अध्ययन सम्म सबै विज्ञान हो । ब्रह्माण्डको आकार, प्रकार र सुन्दरता आर्किटेक्चर हो, यसको उत्पत्ति र फैलावट विश्वकर्मा हो, दृश्य, अदृश्य शक्ति, यो बाँधिएको सिद्धान्तको संगालो विज्ञान हन । त्यसैले यी सबै एकआपसमा कसिएर बाँधिएका सत्यहरु हुन् ।
सबैभन्दा सामान्य भाषामा भन्दा, विश्वकर्मा उत्प्रेरणा हुन, आर्किटेक्चर प्रयोजन हो र विज्ञान साधना हो ।
(रातोपाटी अनलाइन पत्रिकामा प्रकाशित)
