|

इन्जिनियरिङ अध्ययन संस्थानलाई सुझाव

Share with

बार्षिक हजारौँ प्राज्ञिक जन्माउने पवित्र थलो हो विश्वविद्यालय । नेपालको सबैभन्दा धेरै दक्ष जनशक्ति उत्पादनको गर्भ हो त्रिभुवन विश्वविद्यालय । देशकै सबैभन्दा ठूलो यस विश्वविद्यालयका पाँचवटा प्राविधिक शैक्षिक संस्थानहरु मध्येको एक हो, इन्जिनियरिङ अध्ययन संस्थान (इ अ सं) । असी वर्षभन्दा लामो इतिहास बोकेको यस इ अ संस्थान सन् १९७२ देखी मात्र त्रि वि को अङ्गका रुपमा वर्तमान संरचनाअन्तर्गत स्थापित भएको हो । इ अ सं अन्तर्गत हाल चारवटा आंगिक क्याम्पस र दशवटा सम्बन्धन प्राप्त क्याम्पसहरु संचालनमा रहिआएका छन् ।

1.jpgशैक्षिक उत्कृष्टताका साथै अनुसन्धानमूलक–शैक्षिक दक्षिण एसियाली केन्द्रका रुपमा स्थापित हुने महान दृष्टिगोचर बोकेको शैक्षिक संस्थान हो यो । इ अ सं नयाँ र भिन्न खालका कार्यक्रमहरुद्वारा इन्जिनियरिङ ज्ञानको प्रयोग गरी समृद्ध नेपालको परिकल्पनामा विशेष सहयोगीको भूमिका निभाउन प्रयत्नरत रहँदै आएको देखिन्छ । राष्ट्रिय विकासका निम्ति उच्च स्रोत मानव स्रोत नै रहेकोले होला यस इ अ सं श्रेष्ठतम दक्षता प्रदानार्थ दत्तचित्त रही शैक्षिक वातावरणको सधैँ कडा पक्षपाती रहँदै आउनु सम्पूर्ण नेपालीका निम्ति गौरवयोग्य तथ्य हो । यद्यपि विश्वव्यापीकरण र प्रविधिको उच्चतम आजको युगमा विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर प्रदान गर्नु, उत्पादित प्राज्ञिकहरुलाई संसारभर उचित सम्मानका साथ यथोचित स्थान ग्रहण गर्न सक्षम बनाउनु, आर्थिक अपर्याप्ततासँग जुध्नु, देशको अस्थिरताका कारण उत्पन्न संक्रमणकालीन परिस्थितिको सामना गर्दै अगाडी बढ्नुपर्ने लगायतका थुप्रै समस्या र चुनौतिहरुको सामना पनि इ अ सं अपूर्णरुपमा गर्न सक्षम भएको नै छ । यद्यपि अन्तर्राष्ट्रिय स्तरको संस्थानका रुपमा इ अ सं लाई विकास गर्ने आफ्ना महत्वाकांक्षी लक्षमा भने खासै सफलता हात पार्न सकेको देखिदैन ।

इन्जिनियरिङ अध्ययन संस्थानले कमसेकम दक्षिण एसियाली प्राविधिक केन्द्रको रुपमा आपूmलाई उभ्याउन सके समग्र राष्ट्रकै गौरवको उचाई ह्वात्तै बढ्नेमा कुनै शंका छैन । यसकै माध्यमबाट राष्ट्रको सामाजिक, आर्थिक लगायत विभिन्न क्षेत्रमै कायापलट गर्न सम्भव देखिन्छ । तर अन्तर्राष्ट्रिय समुदाय शैक्षिक–प्राविधिक क्षेत्रमा हामीभन्दा धेरै अगाडी रहेको हुनाले त्यो उचाई हासिल गर्न निकै कसरत गर्नुपर्ने हुन्छ । सामान्य भाषामा, अन्तर्राष्ट्रिय प्राविधिक नेतृत्व लिनु आफैमा स्वतः एउटा उच्च उचाई हासिल गर्नु हो । त्यसैले यो उचाई मापन गर्ने विश्वव्यापी आधारहरु हुन्छन् । ती उचाई र गुणस्तर मापनका आधारहरु भनेका संसारमा प्रचलित विभिन्न किसिमका विश्वविद्यालय वर्गीकरणका आधारहरु हुन् । संसारमा समय, क्षेत्र र आवश्यकताअनुसार विभिन्न विश्वविद्यालयहरुलाई तिनको अध्ययन, अनुसन्धानका आधारमा फरक फरक श्रेणी र दर्जा प्रदान गरिने प्रचलन हुन्छ । जसको वर्गीकरणले देखाएअनुसार इ अ सं यि यस्ता मापनमा विश्वस्तरमा धेरै पछाडी छ ।

केवल बिश्लेषण मात्र गर्ने हो भने हामी प्राविधिक शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय तुलनाका आधारमा कमजोर रहेको स्पष्ट देख्न सकिन्छ । तर बिश्लेषण समाधान होइन यो त केवल अवस्था ज्ञात गर्ने माध्यममात्र हो । बिश्लेषणबाट प्राप्त तथ्यहरुबाट पाठ सिकेर त्यसको संष्लेषण गर्दै व्यावहारिकताको मार्ग अवलम्बन गर्नु बुद्धिमत्तापूर्ण कार्य हो । समस्या पहिल्याउनुमात्र बाघको जुँगा उखेल्नुभैmँ कठिन होइन । समस्या समाधानको पथप्रदर्शन मुख्य कुरा हो । समाधान आवश्यकता हो । नेपालको शैक्षिक संस्थालाई अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नु मुख्य कुरा हो ।

शैक्षिक संस्थाहरुको श्रेणी वा वर्ग छुट्याउन विभिन्न सिद्धान्तहरु प्रतिपादन गरिएका छन् । तिमध्ये प्रायःले उस्तै उस्तै पक्षहरुमा जोड दिएको पाइन्छ । कुनै शैक्षिक संस्थाको भौतिक र अभौतिक सबै किसिमको मापन यस किसिमको मापकहरुमा प्रयोग गरिन्छ, जुन त्यस शैक्षिक संस्थाको श्रेणी निर्धारक बन्दछ । तर इ अ सं को सन्दर्भमा यस वर्गीकरणको सिद्धान्तलाई व्यावहारिकतामा उल्टो पल्टाई हेर्नुपर्ने हुन्छ । जसअनुसार, विद्यार्थीको बौद्धिक क्षमता, पाठ्यक्रम र प्रणाली, बस्तुगत व्यावहारिक ज्ञान र सीप, अन्तर्राष्ट्रिय प्रभाव र क्षमता प्रदर्शन, भौतिक पूर्वाधार र संरचनाहरु इत्यादिको स्तरोन्नती गरेको खण्डमा यस शैक्षिक संस्थाको वर्गीकरणका आधार स्वतःस्पूmर्त ढंगबाट बढ्ने छन् । आवश्यक मापकका सम्पूर्ण मापन पूरा गर्ने छन् । जसअनुसार इ अ सं प्रमुख अन्तर्राष्ट्रिय प्राविधिक केन्द्र बन्न सफल हुनेछ ।

यस इ अ सं को स्तरोन्नतीका निम्ति प्रस्तावित आधारभूत मान्यताहरु तल उल्लेख गरिएका छन् जसको पूर्णता र कार्यान्वयनमा जोड गरिएको खण्डमा प्राविधिक केन्द्रका रुपमा इ अ सं लाई विकास गर्ने महत्वपूर्ण खुड्किलो पार गर्न सम्भव हुने देखिन्छ ः–

१) विद्यार्थीको बौद्धिक क्षमतासंग सम्बन्धित विषय
अन्तरसंकाय प्रतिस्पर्धात्मक शिक्षण तथा प्रशिक्षण विधि अवलम्बन गरिनुपर्दछ । विषय र संकायअनुसार देश तथा विदेशमा समेत प्राविधिक विज्ञ संख्या आवश्यकता अध्ययन अनुसन्धान गरी आवश्यक परेमा विद्यार्थी संख्या थप गर्ने पहलकदमी सुरु गर्नुपर्दछ । संकाय र विद्यार्थी अनुपात बढाउनुपर्दछ । समावेशितामा जोड दिने र अनुसन्धानलाई बिशेष महत्व दिइनुपर्दछ ।

२) पाठ्यक्रम र प्रणालीसंग सम्बन्धित विषय
भर्ना प्रक्रिया थप कडा र कम्प्युटराइज्ड सिस्टममा लानुपर्दछ । पुरातन शिक्षण विधी हटाउने, नयाँ तर मौलिक विधी तय गर्ने । बुझाइ र प्रयोगलाई घोकाइभन्दा प्राथमिकतामा राख्ने । मुल्यांकन विधी परिमार्जन गर्ने । अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम निर्माण गरी समयानुकुल परिमार्जन गर्ने ।

३) बस्तुगत व्यावहारिक ज्ञान र सीप सम्बन्धित विषय
सबै विद्यार्थीलाई अनिवार्य इन्टर्नसिपको व्यवस्था गराउने । अध्ययनक्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय बस्तुस्थिति, परिवेश र व्यवहारिकता ज्ञात हुने वातावरण निर्माण गर्ने । औद्योगिक उत्पादनसंग प्रविधीलाई व्यावहारिक रुपमा जोड्न सिकाउने ।

४) अन्तर्राष्ट्रिय प्रभाव र क्षमता प्रदर्शन सम्बन्धित विषय
विश्वका सर्वाैत्कृष्ट शैक्षिक संस्थाहरुसँग समकक्षी सम्बन्ध बढाउने । अन्तर्राष्ट्रिय बजारमा आफ्ना शैक्षिक उत्पादन प्रवाह गराउने । विश्वपरिवेशमा नेतृत्वदायी प्राविधिक बन्न सक्ने सीप सिकाउने । इन्जिनियर, आर्किटेक्ट लगायतको प्रतिभापलायन रोक्न स्वरोजगार सेवा सम्बन्धी नीतिगत पहल गर्ने ।

५) भौतिक पूर्वाधार र संरचनाहरु सम्बन्धित विषय
यसअन्तर्गत भौतिक पक्ष पर्दछ । शैक्षिक संस्थाको क्षेत्रविस्तार गर्ने । भौतिक संरचना निर्माण लगायत अत्याधुनिक कम्प्युटर सहित लाइब्रेरी, किताब, वर्कसप लगायत पर्याप्त बनाउने । ल्याबोरेटरी, हल इत्यादि प्रशस्त मात्रामा स्थापना गर्ने । पर्याप्त खेलकूद मैदान, सामग्री, जीम आदीको व्यवस्था गर्ने । विद्यार्थी, कर्मचारी, प्राध्यापक लगायत सबैलाई बसोबासका निम्ति ब्यवस्था गर्ने । गुणस्तरीय मेस, क्यान्टीन सञ्चालनमा ल्याउने । तथा, सम्पूर्ण भौतिक पक्षमा विस्तार गर्ने ।

यि यस्ता विचारणनीय तथ्यहरु खोतल्दै एउटा इ अ सं अन्तर्गतकै पुल्चोक क्याम्पसको आर्किटेक्चरको विद्यार्थीका तर्फबाट सुझाव सुझाउने क्रममा यिनको गाम्भीर्यतालाई मनन गरिनेमा यो पंक्तिकार पूर्ण विश्वस्त छ । नितिनिर्माण तहका विद्धानहरुकै हातमा यसको भविष्य परिकल्पित हुन्छ । यद्यपि हरेक विद्यार्थी, शिक्षक, कर्मचारी, प्राध्यापक, क्याम्पसहरु, डीन प्रशासन, त्रि वि हुँदै सरकारसम्म सबै पक्ष जिम्मेवार बनी इ अ सं लाई राष्ट्रिय धरोहरका रुपमा स्थापित गराउन कसिने हो भने एक दिन अन्तर्राष्ट्रिय इन्जिनियरिङ अध्ययन तथा अनुसन्धान केन्द्रका रुपमा यो संस्थान पुगेकोप्रति सबैले गर्व गर्ने दिन अवश्य आउने छ ।

राष्ट्र निर्माणको महाअभियानमा होमिने कसम खाई इन्जिनियरिङ क्षेत्रमा जाकिन पुग्ने तमाम विद्यार्थीको भविष्य मात्र नभई देशकै भविष्य समेत शिक्षाले निर्धारण गर्दछ । तसर्थ शिक्षा क्षेत्रमा देखापर्ने सम्पूर्ण समस्या समाधानका उपाय सुझाउनु सबैको कर्तव्य पनि हो ।

(गोरखापत्र दैनिक पाठक आवाज, उत्कृष्ट पुरस्कारले सम्मानित)

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *