“पूर्ण बहादुरको सारंगी” सफलताको सामाजिक, आर्थिक, राजनीतिक र कलात्मक दृष्टिकोण
अहिलेको ब्लकबस्टर नेपाली चलचित्र “पूर्ण बहादुरको सारंगी” हेरियो । यसपाली चलचित्र हेर्नुको मेरो उद्देश्य फरक रह्यो । मनोरन्जनका अलावा, “किन आम जनमानसमाझ “पूर्ण बहादुरको सारंगी” यसरि अत्यन्त बढी रुचाइयो?” भन्ने प्रश्नको जवाफ खोतल्नु !
यो नेपाली चलचित्र ग्रामीण कस्टपूर्ण जीवन बिताइरहेका एक प्रतिनिधिमुलक पात्र “पूर्ण बहादुर गन्धर्व अर्थात पुर्ने” को कथा हो ! जो एक सिमान्तकृत अनपढ गरिब “पुर्ने” हो ! यो उसको जीवन्त चित्रण हो। यस चलचित्रले हाम्रो समाजको जातीय/सामाजिक विभेद र चरम गरिबीको ऐतिहासिक प्रभाव देखाउँछ । कथा पूराका पूरा मौलिक कलात्मक तरिकाले प्रस्तुत गरिएको छ।
एक “गाइने” को कथा, जसले सामाजिक गहिराइ छिचोलेको छ, आर्थिक संटकसँग जुधेको छ, राजनीतिक परिवर्तनको साक्षी बनेको छ यो उसको कथा हो ! “ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ” भनेझैं, गरिबलाई परिस्थितिले कसरि खेद्छ भन्ने झलक सहितको उत्कृष्ट कलात्मकता को प्रयोग सहितको नाटकीय प्रस्तुति यसमा छ । गन्धर्वले बजाउने “सारंगी (परम्परागत बाजा)” लाई केन्द्रबिन्दु राखी तयार पारिएको यो चलचित्र किन ब्लकबस्टर भयो? यहाँ यसका विभिन्न पक्षहरु उल्लेख गरिएका छन् :
Read Also : Purna Bahadurko Sarangi (पूर्ण बहादुरको सारंगी) Movie Review

पूर्ण बहादुरको सारंगीको सामाजिक दृष्टिकोण
एक दुरदराजको नेपाली गाउँ, जो पिछडीएको छ । जो पंचायत देखि गणतन्त्र सम्म समग्रमा उस्ता उस्तै देखिन्छ, त्यहाँ बस्ने एक गन्धर्व जो सारंगीमा बाँचेको छ, जो अनपढ छ, हो यो उसको कथा हो ।
एक पछाडी परेको गन्धर्व जाति वा सो सरहका कुनै पनि जाति, जो समाजमा निम्न बर्गीय अवस्थितिमा छ, के उसले पनि प्रगतिको सपना देख्न सक्छ? उसको सोच्ने तरिका कस्तो हुन्छ? उ समाजमा कुन अवस्थितिमा रहन्छ? उसको पारिवारिक संरचना के कस्तो र कसरि बनेको हुन्छ? का साथै त्त्यसले उसको जीवन संचालनमा के कस्ता प्रभाव पारेको हुन्छ ? कसरि मौलिक पुरानो शैलीको ग्रामीण नेपाली समाजको चरित्र पहिले र अहिले फरक छ? भन्ने सम्म यस चलचित्रले चार पुस्ताको प्रत्यक्ष र अनेकौं पुस्ताको बिंडो थामेर बसेको पूर्ण बहादुर गन्धर्व स्वयम्, उसको बुवा, पूर्णको छोरा कमल र कमलको छोरी सम्मको चार पुस्ते प्रस्तुती गरेको छ । सबैलाई सारंगीले जोडेको छ ।

“बा तिमीलाई किन सबैले हेप्छन?” ” इज्जत चोर्ने हैन कमाउने हो कान्छा !” जस्ता डाईलगहरुले चलचित्रलाई जीवन्त पारेका छन् !
पूर्ण बहादुरको सारंगी सफल हुनुमा यसले समाजको गहिरो प्रस्तुति गरेको हुनु एक प्रमुख कारण हो ।
आर्थिक दृष्टिकोणबाट प्रेरणादायक कथा
पूर्ण बहादुरको सारंगी चलचित्रले गरिबी र कठिनाइका बाबजुद पूर्ण बहादुरले कसरी आफ्नो जीवनलाई सारंगीको माध्यमबाट आर्थिक सम्भावनामा बदल्छन् भन्ने कथा प्रस्तुत गर्दछ। यो हरेक संघर्षरत व्यक्तिका लागि प्रेरणादायी छ।
अर्थ सामाजिक महत्वको दृस्टी बाट नियाल्दा यो चलचित्र किन सफल भयो होला? यसले एकजना यस्ता बुवाको कथा बोलेको छ जो गरिब छ, जो आफ्नो पुर्खा र आफ्नो भविष्य (छोरा) प्रति पूर्ण बफादार छ ! आर्थिक रुपमा पूर्ण रुपमा सिमान्तकृत छ, सामाजिक बहिस्करणमा परेको छ ! उसले कसरि सपना देख्ने र त्यो पूरा गर्ने संघर्ष गर्छ? के उ देखेको सपना पूरा गर्न सफल हुन्छ? वा गरिबीको मारमा असफल हुन्छ? यो कथा पूर्ण छ, सायद त्यसैले यस कथाका प्रमुख पात्रको नाम पनि पूर्ण नै छ ।

“बा उ त्यो डाँडापारि के छ?” “उ त्यो डाँडापारि ठुलो शहर छ, त्यहि शहरमा तँलाई पठाउने मेरो रहर छ” जस्ता डाइलग उत्कृष्ट छन् जो ठुलो अर्थ सामाजिक महत्वका छन् !
राजनीतिक सन्देशको झलक
चलचित्रले जातीय विभाजन र सामाजिक असमानतालाई प्रस्ट रूपमा उजागर गरेको छ। यो विषय नेपाली राजनीतिक परिवेशसँग गहिरो रूपमा जोडिएको छ, जसले समाजमा बराबरी र समानताको महत्वलाई सन्देश दिएको छ । राजनीतिक विकासक्रम र मानवीय बिकासको सामन्जस्यता प्रदान गरेको छ ।

राजनीतिमा महत्व राख्ने प्रमुख घटनाहरु पंचायतकाल हुँदै २०४७ सालको आन्दोलन र २०६२/६३ को राजनीतिक आन्दोलन हुँदै नेपाली समाज अगाडी बढिरह्यो, देश गणतन्त्रमा पुगिसक्यो तर के समाजको एक पिछडिएको गरिबले पनि केहि प्रगति गर्यो त? अवश्य नै यो चलचित्रले यस प्रश्नको गतिलो जवाफ दिएको छ !
“मेरा बा ले आफ्नो क्रान्ति आफ्नै तरिकाले गरिराछन” ! एक उत्कृष्ट सामाजिक राजनीतिक डाइलग हो, यस फिल्ममा !
कलात्मक प्रस्तुतिमा मौलिकता
“पूर्ण बहादुरको सारंगी” ले परम्परागत संगीत र संस्कृतिलाई सिनेमाटोग्राफीमा प्रयोग गरेर कलात्मक दृष्टिकोणलाई दर्शनीय बनाएको छ। गीत-संगीत र अभिनयले दर्शकलाई चलचित्रसँग भावनात्मक रूपमा जोड्न सफल भएको छ।
यस कथामा, सबै हिरो छन । सबै कलाकारलाई हिरोइक शैलीमा उतार्न सक्नु यस चलचित्रको सबै भन्दा ठुलो पक्ष हो भन्ने मेरो विश्लेषण छ । कथाको परिवेश र सोहि अनुकूल पर्फेक्ट प्रस्तुति यस चलचित्रको सबभन्दा बलियो पक्ष हो ।

यसमा प्रयोग भएको लाइटिंग, कथा र शैली, गीत र सङ्गीत सबैको सामन्जस्य मिलेको छ ! एउटा सारंगी छ जो सधैं फिल्मको केन्द्रबिन्दु बनाइएको छ, यसरि एउटा “सानो” तर “सटिक” बस्तुलाई केन्द्रमा राखेर सोहि वरिपरी समग्र फिल्म तयार पारिनुले फिल्मलाई ट्रयाक बाहिर जान नदिकन पुरै समयभरी बिषयमा केन्द्रित गरेको छ ! सायद यो चलचित्र त्यसैले सफल भयो कि?
Read Also : Purna Bahadurko Sarangi (पूर्ण बहादुरको सारंगी) Movie Review
केहि प्रश्नहरु ?
१. रैया चाँदीको गीत (दोहोरी) गाउने बेलामा बाटुली (प्रमुख हिरोइन) हातमा चाँदीको चुरा लगाएको देखाएको भए राम्रो हुन्थ्यो कि?
२. बाटुलीलाई ऐन मौकामा भागेको भन्ने ठुलो आरोप लागेको छ, बाटुलीलाई आफैलाई पनि थाहा छैन उ भागेकी हो भन्ने ! बरु उ त छोराको भबिष्य कोर्न हिंडेकी हो ! त्यसो हो भने उ पत्रमा भागेकी हुँ भनि अरु कसैले लेखेकै भरमा घर फर्किन नसक्नु अलि बढी नै भएन र?
३. कमल/ले बच्चा हुँदा करिब ५ बर्ष जतिको देखिन्छ, त्यो बेला सुधारिएको पंचायतकाल सुरु हुन्छ । त्यो समय २०३६ साल हुनुपर्ने हो कि २०३९? फिल्ममा २०३९ भनिएको छ, वास्तविकता के होला?
४. मानौं २०३९ नै हो भने, त्यसको ठिक १० वर्ष पछि कमले एस.एल.सी. पास गर्छ अर्थात २०४९ सालमा ! अनि २०४९ मा एस.एल.सी. गरेको मान्छेले आइ.एस्सी. गर्न २ बर्ष लगाउने हो भने डाक्टर बन्न ५ बर्ष गरेर २०५७ सालमा डाक्टर भइ सक्नुपर्ने हो ! कसरि २०६५ साल?
५. पुर्ने (पूर्ण बहादुर) छोराले पत्र पठाएको पत्र पढीमाग्न भौतारीदा नै २०६२/६३ को आन्दोलन पनि हुन्छ, गणतन्त्र पनि आउंछ ! तर एकै रातमा त्यो सब किन? मानौं प्रतीकात्मक नै हो भनेपनि त्यहि बेला गोजीमा बोकेको पत्रले कमले डाक्टर भएको भन्छ ! तर उ त २०६५ तिर पो डाक्टर बनेको हो त?
६. पुर्ने त्यत्रो बर्ष सम्म आवाज नै निकाल्न नसक्ने हुँदा सम्म पनि छोरो एक चोटी पनि घर आएन? फोन गरेर पनि कसैले पनि उसलाई घटनाको जानकारी सम्म किन गराएन?
समग्रमा
Purna Bahadurko Sarangi (पूर्ण बहादुरको सारंगी) सामाजिक सुधारका लागि फिल्म उद्योगको भूमिकालाई समेत उजागर गरेको छ। यो चलचित्र एक व्यक्ति मात्रको कथा नभएर नेपाली समाजको प्रतिबिम्ब हो। सामाजिक न्याय, आर्थिक संघर्ष र सांस्कृतिक संरक्षणका लागि यसले नयाँ दृष्टिकोण स्थापित गरेको छ, जसले नेपाली सिनेमा उद्योगलाई उचाइमा पुर्याउन सघाउँछ। सघाउनेछ ।
