|

कला र साहित्य

Share with

कला र साहित्यको उत्कृष्टता त्यसमा प्रयुक्त शब्द, भाव र अनुशासनको सीमाले निर्धारण गर्दछ । त्यसैले, कलासाहित्य समयअनुसार परिवर्तनशील र विकसित बन्दै जानु खुसि र गर्वको कुरा हो । तर अनुशासनहीन ढंगबाट समाजलाई झन विकृत र कुरुप बनाउन कसम खाएझैं लागेका केही तत्वहरु र यस क्षेत्रमा देखापरेका समस्याहरुको तत्काल निदान खोजिनु अत्यावश्यक बन्दै गएको छ ।
नेपाली समाज बहुआयामिक समाज हो र कला यस समाजको महत्वपूर्ण पाटो हो । तर जुन प्रकारले कला र अझै हास्यव्यंग्य विधा प्रदूषित बन्दै गएको छ त्यसप्रति सम्पूर्ण नेपाली समाज बेलैमा सजग बन्नु जरुरी छ । सम्बन्धित पक्ष र सरकारी निकाय समय बाँकी छँदै सजग र सचेत नबन्ने हो भने हाम्रो समाजको मौलिक स्वच्छन्दता र सुन्दरता केही समयपछि धराषायी बन्ने खतरा देखिन्छ ।
राष्ट्र संक्रमणकालमा रहेका बेला नेपाली संस्क्रितिमाथि तीब्र हमला भइरहेका छन् । बाह्य आक्रमणहरु हाम्रो मौलिक भाषा र साहित्यलाई पूर्णरुपले विस्तापित गर्ने उद्येश्यले ओतप्रोत छन् भने आन्तरिक आक्रमणहरु मनोमानी अनुशाशनहीनता र दलाल मानसिकताबाट निर्देशित छन् । त्यसैले यस कला क्षेत्रमा उत्पन्न भइरहेको तिब्र बिकार र संक्रमणको प्रत्यक्षदर्शीका हिसाबमा भन्ने हो भने समाज ब्यक्तिबादी र मनोगत बन्दै गइरहेका बर्तमान अवस्थामा कला र साहित्य यिनै खण्ड खण्डहरुलाई जोडेर एक बनाउन सहयोग पु¥याउने मसला बन्नु पर्दछ ।
संघीय लोकतान्त्रिक गणतन्त्र भएको मुलुकमा कसैका गतिबिधिमाथि प्रतिबन्ध लगाइनुपर्ने माग यो सृजक गर्दैन, तर छाडापन, अश्लिलता, अनुशासनहीनता र सांस्कृतिक बिचलन र कुसंस्कार अन्त्य गरी नयाँ नेपालको नयाँ भविष्य निर्माणमा लाग्न सबै पक्षलाई अनुरोध गर्दछ ।
पछिल्लो समयमा सामाजिक संजालमा प्रशस्त भेटिने बिकृत र कुरुप कलासाहित्य तथा खुल्लमखुल्ला समाजको मर्यादा मिच्दै भइरहेको प्रहसनको दर्शक बन्ने दुर्भाग्य मलाई पनि प्राप्त भयो । “¥याप ब्याटल” नामक सडक प्रतियोगिताको त्यो भिडियोहरु हेर्दा कुनैपनि नवसाहित्यप्रेमी तथा कलाप्रेमी होस् वा सामान्य कुनै समाज र संस्कृतिप्रति प्रेम गर्ने जोसुकैको मुन्टो लाजले निहुरिने ग्यारेन्टी गर्न गाह्रो छैन । त्यस्ता असभ्य, अश्लिल, प्रदूषित र कलाको बद्नाम गर्नेहरुको चारैतिर झुम्मिएको युवा जमात हेर्दा झन् सामान्य प्रशाशनको मौनता र सम्बन्धित पक्षको निरीह मौन समर्थन झन पिडादायक लाग्छ ।
हाम्रो नेपाली सभ्यता र संस्कारको ऐतिहासिक साँस्कृतिक चिनारी न्यूनतम अनुशासनको दायराभन्दा पनि कोशौँ टाढा भागिसकेको भान हुन्छ र लाग्छ यदि समाजलाई आफ्नो सामाजिक कर्तव्यबोध भएन भने यो समाज पूर्ण रुपमा अस्तब्यस्त बन्ने खतरा देखिन्छ । किनभने कला यस्तो विधा हो जस्ले समाजपरिवर्तनको एक प्रमुख सम्बाहकको भूमिका खेल्न सक्तछ चाहे त्यो परिवर्तन सकारात्मक होस् या नकारात्मक । त्यसकारण हामी सबै नेपाली र झन विशेष रुपले युवावर्ग कलालाई सदुपयोग गर्न लागिपरौं । नेपाली कला साहित्य विधालाई हास्यब्यंग्य र मनोरञ्जनको साधन मात्र होइन इतिहासको धरोहरका रुपमा ग्रहण गरी भावी सन्ततीका निम्ति यसलाई पहिचानको परिचायकको रुपमा स्थापित गर्ने महाअभियानमा जुटौं ।

(नयाँ पत्रिका दैनिकमा प्रकाशित)

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *