एउटा रोग (कविता)
भुन्टे सानै छ, उसलाई थाहा छैन,
उसका बालाई एउटा रोगले च्यापेको छ,
आफूभन्दा अरुलाई सताउने त्यो रोग,
ऐतिहासिक नेपाली रोग,
औषधि नै नभएको रोग,
कालान्तरलाई प्रभावित पार्न सक्ने,
यो बाइलोजिष्ट हरुले ठम्याउनै नसक्ने खतरनाक रोग हो,
यसको उपचार रोगीेकै हातमा हुन्छ ।
भुन्टेको घरमै पनि यो रोगको खासै चर्चा हुँदैन,
उसकी आमालाई समेत यो रोगको चिन्ता छैन,
तर मलाई चिन्ता छ,
किनकि
भुन्टेका बाको रोगको पिडित म पनि हुँ
पाठक महोदय, श्रोता महाशय,
तपाँईलाई पनि यो रोगले दुःख दिएकै हुनुपर्छ,
यदि तपाईँ एक आम नेपाली हो भने ।
भुन्टेका बा,
यो शहरका एक कुख्यात कन्ट्र्याक्टर हुन्, ठेकेदार हुन्,
र उनलाई लागेको रोग हो,
ढिलासुस्तिको रोग,
समयमा काम नसकाउने रोग,
महिनादिन नपुग्दै उप्किने कालोपत्रेको रोग,
भ्रष्टाचारको रोग,
र जानीजानी जनतालाई दुःख दिने नियतको रोग ।
(नयाँ पत्रिका दैनिकमा प्रकाशित)
