डोटेली भाषापनि गोरखापत्रमा अटाउने कि !
गोरखापत्रमा “नयाँ नेपाल” शीर्षक अन्तर्गत “समावेशीकरणको दिशामा एउटा फड्को” नारासहित विगत लामो समयदेखी विभिन्न राष्ट्रिय भाषामा खबर तथा आलेखहरु प्रकाशित हुँदै आएका छन् । गोरखापत्रको यो अभियानलाई मुरीमुरी धन्यवाद दिनैपर्छ । नेपालमा विभिन्न क्षेत्रमा विभिन्न जातजातिले बोल्ने र लेख्ने भाषाको सम्मान गरिनुपर्दछ जसले समृद्ध नयाँ नेपालको परिकल्पना साकार पार्न सहयोग पु¥याउन सक्तछ । तर इतिहासमा सधैँ निरंकुश केन्द्रीकृत राज्यसत्ताद्धारा पछाडी पारिएको सुन्दर सुदूरपश्चिमका बहुसंख्यकले बोल्ने डोटेली भाषा गोरखापत्रको यो नारामा नअटाएको देख्दा अत्यन्त दुःख लाग्दछ ।
हाम्रो देशको राष्ट्रभाषा नेपालीको उत्पत्ति डोटेली भाषा हुँदै विकास भएको तथ्य जगजाहेरै छ । तसर्थ यो नेपाली भाषाको माउभाषा पनि हो । डोटेली भाषा धेरैले प्रयोग गर्ने भएपनि राज्यको तर्फबाट यसको संरक्षण र संवद्र्धनमा खासै चासो देखिएको छैन । राष्ट्र समावेशीकरणको महाअभियानमा सबै डटेका बेला डोटेली भाषा र संस्कृतिको उपेक्षा गरी अगाडी बढ्न संभव हुने देखिदैन किनभने समावेशिता सबैको अधिकार हो र कसैलाई पनि यो अधिकारबाट बञ्चित गरी राष्ट्र अगाडी बढ्न संभव हुँदैन ।
सुदूर तथा मध्यपश्चिममा समेत धेरैले डोटेली भाषा जीवनपर्यन्त प्रयोग गरिराखेका छन् । तिनको भावना र भाषाको कदर गर्दै यसको संरक्षण गरिनु आवश्यक छ । त्यसैले सम्पूर्ण पश्चिमेली जनताको जनभावना र भाषा अटाउने गरी गोरखापत्रमा डोटेली भाषा पनि अटाउने कि ?
(गोरखापत्र दैनिक पाठक आवाजमा प्रकाशित)
