|

भूकम्प, माउसुली र म

Share with

एकाएक टेबल हल्लिन थाल्यो, टेबल माथिको महङ्गो ल्यापटप पनि मच्चिन थाल्यो, झ्याल ढोका सबै एकैचोटी अचानक हल्लिन थालेपछि म झसङ्ग भएँ ! ओहो, भूकम्प पो आएछ । मेरो तन्द्रा भङ्ग गर्दै आधारातमा छरछिमेकीहरु भूकम्प भूकम्प भन्दै कराउन थालेपछि म पूर्ण रुपमा जागृत भएँ र हतारहतारमा कोठाबाहिर कुद्न हस्याङ्गफस्याङ गर्न थालेँ । कोठाबाहिर निस्किनै लाग्दा अचानक मरो नजर त्यो भित्तामा पर्न गयो जसमा विहानै देखी एउटा माउसुली गम्भीर ध्यानमा मग्न थियो ।
आज विहानको कुरा हो । म क्याम्पस जानै लाग्दा मेरा आँखा प्रथम पटक त्यस माउसुलीसँग जुधेका थिए । मानौँकि हाम्रो अमर प्रेमको एउटा कथाको फिल्मी पात्र जस्तो । ऊ एक शान्त माउसुली थियो र म एक शान्त मानिस । उसका निम्ति सारा संसार भनेकै ती चार भित्ताहरु थिए । कमसेकम बासस्थाम थिए, घर थिए । मेरा निम्ति ती चार भित्ताहरुले घेरिएको कोठा मेरो बासस्थान थियो । त्यही मेरो घर थियो नभए डेरा थियो । त्यसैले हामी दुई प्राणी एउटै घर, एउटै कोठामा बस्ने साथी बन्नेवाला थियौँ, अबको भविष्यमा । यद्यपि हाम्रो जात मिल्दैनथ्यो, रुप रंग मिल्दैनथ्यो र सायद हाम्रो लिङ्ग पनि मिल्दैनथ्यो तरपनि मिलेरै बस्न सक्ने हिम्मत भने अवश्य थियो हामीमा ।
केही आधारभूत फरक थियो हामीमा र केही चैतन्य बिशेषताका कारण स्वतः उत्पन्न भिन्नताहरु । हामी जो जे थियौँ हामीलाई त्यसमै गर्व र घमण्ड थियो । बालककालमा बाबाले मलाई माउसुलीको पुच्छर, सुली, मुत्र सबै बिषाक्त हुन्छन् भनी सिकाएको पाठ मेरो मानसपटलमा ताजै थियो । सायद माउसुली पनि आफ्ना तिनै बिशेशताको घमण्ड गथ्र्यो वा भनुँ तिनै आफ्ना शरीरमा भएका बिषका कारण इतिहासमा कति मानिसको मुत्यु भएको प्रति लज्जित थियो । अथवा आफ्ना बीर पुर्खाहरु तिनै बिषका कारणले मेरा पुर्खाहरुबाट शहादत प्राप्त गर्नु परेको प्रति आक्रामक पनि, म प्रति । तर हाम्रा आँखा धेरैबेर जुध्न भने सकेनन्, कारण स्पस्ट थियो, म ब्यस्त ऊ बेरोजगार ।
मित्र माउसुलीका निम्ति त्यही भित्ता सर्वथा हो । सारा संसार हो । त्यहीँ रमाउन सक्ने खुबी छ या भनौँ अल्छी छ । तर सारै भित्ताभक्त छ, किनभने उसको राष्ट्र भन्नु नै त्यही चार भित्ताहरु हुन् र त्यहीँ सीमित छ उसको राष्ट्रियता पनि । हुनत मेरा निम्ति पनि त्यही कोठा र भित्ताहरु सबैथोक बनेका छन् । मेरो साथी जस्तै म पनि कोठाभक्त जरुर हुँ, म आफ्नो कोठालाई अति प्रेम गर्छु । त्यसैले म मानिस नभएको भए मेरो सिमीतता त्यहीँसम्म सीमित हुने थियो । तर मेरो अर्कै बृहत संसार छ भन्नेमा बिश्वास गर्ने मानिस हुँ म । मेरो ठूलो देश छ, राष्ट्र छ । म देशभक्त हुँ, राष्ट्रभक्त भन्दै धेरे फलाकेको पनि छु । तर मेरो यो कोठेभक्ति अनि देशभक्ति जाबो भुँइचालोका झड्कासँगै त्यस माउसुलीका अगाडी पर्दाफास भइसकेको थियो । म लज्जित भइसकेको थिएँ ।

भूकम्पले हल्लाएर मेरो कोठा भत्किएर म मर्छु भन्ने त्रासमा आफ्नो कथाकथित कोठाभक्ति बिर्सिएको थिएँ मैले । त्यसैले त म भाग्दै थिएँ, कोठा छोडेर । तर मेरो मित्र माउसुली भने आफ्नो राष्ट्र यानिकी तिनै भित्ताहरु हल्लिएको चाल पाएर खस्लान कि भन्दै बलपूर्वक संकट समाधानका निम्ति अडेस लगाइरहेको थियो । उच्च भित्ताभक्ति प्रदर्शन गरीरहेको माउसुलीका निम्ति यो एक घोर बिपत्ति थियो उसको देशमाथी जसका बिरुद्ध ऊ संघर्षरत थियो । जसबाट म अत्यन्त प्रभावित भइसकेको थिएँ । म भने भगौडा साबित भइसकेकोमा आफैलाई धिक्कार्दै थिएँ । जाबो कोठाभक्ति पनि मैले निभाउन सकिन कि झैँ लाग्दै थियो । के थाहा भोली मेरै राष्ट्रमाथी संकट आइपर्दा पनि म यसैगरी देश छोडेर भागेभने ? त्यसैले देश संकटमा परेको वा अवसर अभाव भएको वा अन्य कुनै बहानामा म आफ्नो मातृभूमी छाडेर कहिल्यै कतै नजाने अठोट गर्दै छु । धन्यबाद मित्र माउसुली, गम्भीर सन्देशका निम्ति ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *